• २०८३ असार ८
  • 2026 June 22, Monday

०८४ को निर्वाचनसम्म वर्तमान सत्ता गठबन्धन कायम रहने एमालेको दाबी

काठमाडौं।  नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी २०८४ को निर्वाचनसम्म वर्तमान सत्ता गठबन्धन निरन्तर रहने दाबी गरेका छन्।

मंगलबार संसद भवन, नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले नेपाली कांग्रेस र एमालेबीचको सहकार्यबाट बनेको सरकारको उद्देश्य पूरा भइनसकेकाले गठबन्धन अझै केही समय टिक्ने स्पष्ट पारे।

“दुई ठूला दलबीचको गठबन्धन भएकाले कहिलेकाहीं अनुकूलता र प्रतिकूलता आउनु स्वाभाविक हो,” उनले भने, “समान हिस्सेदारीको अपेक्षा हुनु पनि स्वाभाविक प्रक्रिया हो।”

उनका अनुसार वर्तमान सरकार गलत दिशामा गएको छैन, तर अपेक्षित गति लिन नसकेको हो। सरकारप्रति आलोचना हुनु स्वाभाविक भए पनि सत्ता गठबन्धनभित्रकै नेताहरूले टिप्पणी गर्दा दुई पार्टीबीचको सम्बन्धमा असर नपरोस् भन्नेमा सतर्क रहनुपर्ने उनको भनाइ छ।

भट्टराईले विभिन्न संवैधानिक निकायमा प्रमुख नियुक्तिको विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा पनि व्यक्त गरे। संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक छैन भन्दै उनले राष्ट्रिय एजेन्डामा सहमति आवश्यक भएकोमा जोड दिए।