• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । गणपुरक संख्या नपुगेपछि  प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपुरक संख्या नपुगेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

सभामुख घिमिरेले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई विधेयक निर्णयार्थ प्रस्तुत गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संविधानको धारा ९४ अनुसार गणपुरक संख्या एकिन गर्न माग गरेका थिए ।

त्यसपछि गणपुरक संख्या एकिन गर्दा गणपुरक संख्या पुग्न ६९ सांसद हुनुपर्नेमा ६५ सांसदमात्रै भएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।