• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

तरुण दल लमजुङको अधिवेशनमा खुकुरी प्रहार गर्ने चारजनाविरुद्ध जाहेरी दर्ता

काठमाडौं।  लमजुङमा भएको नेपाल तरुण दलको पाँचौं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा खुकुरी प्रहार गर्ने घटनासँग सम्बन्धित चारजनाविरुद्ध जाहेरी दर्ता गरिएको छ।

ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको आरोपमा किरण गुरुङ (मध्यनेपाल नगरपालिका), धनबहादुर तामाङ (मध्यनेपाल नगरपालिका), गणेश गुरुङ (राइनास नगरपालिका) र भूपेश गुरुङ (मस्र्याङ्दी गाउँपालिका) विरुद्ध जाहेरी परेको लमजुङका प्रहरी प्रमुख डीएसपी रेशम बोहराले जानकारी दिए।

‘जाहेरी दर्ता भइसकेको छ, तर हालसम्म कोही पक्राउ परेका छैनन्,’ डीएसपी बोहराले भने, ‘अहिले उनीहरूको खोजी भइरहेको छ र मुद्दा अगाडि बढाउने प्रक्रिया सुरु गरिएको छ।’

अधिवेशनको उद्घाटन समारोहमा खुकुरी प्रहार हुँदा खुसीजंग गुरुङ, सुदीप अधिकारी, सन्तोष बस्नेत र शंकर सापकोटा घाइते भएका थिए। तीमध्ये खुसीजंग गुरुङ र सुदीप अधिकारीको अवस्था गम्भीर भएपछि चितवन रिफर गरिएको थियो।

प्रत्यक्षदर्शीहरूका अनुसार प्रतिनिधि छनोट प्रक्रियामा एक पक्षलाई रोक्ने प्रयास भएपछि संस्थापन इतर समूहले नाराबाजी सुरु गरेका थिए। त्यसपछि तनाव चुलिँदै खुकुरी प्रहारसम्मको अवस्था पुगेको हो।

लमजुङमा नेपाली कांग्रेसभित्र प्रदेश सरकारका दुई मन्त्रीबीचको गुटबन्दीले परिस्थिति थप जटिल बनाएको बताइएको छ। जिल्ला सभापति तथा आर्थिक मामिला मन्त्री टकराज गुरुङ र निवर्तमान सभापति तथा वन मन्त्री भेषबहादुर पौडेलबीचको लामो समयदेखि देखिएको विवादले पार्टीलाई गुटमा विभाजित पारेको स्थानीय नेताहरू बताउँछन्।

घटनापछि अधिवेशन असार १० गतेसम्मका लागि स्थगित गरिएको छ।यसअघि पनि तरुण दलको तल्लो तहको निर्वाचनदेखि नै लमजुङमा विवाद चुलिँदै आएको थियो। क्होंलासोंथरको अधिवेशनमा माइन्युट च्यात्ने, महोत्सवमा कुटाकुटसम्मका घटनाहरू भएका थिए। ‘सबै कुरा भित्रभित्रै थुप्रिएको थियो, शनिबारको घटना त्यसकै विस्फोट हो,’ कांग्रेस लमजुङका एक नेताले बताए।