काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले परिवर्तनको लडाइँ एकै दिनमा सम्पन्न नहुने स्पष्ट पारेका छन्। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले परिवर्तन सहज नहुने भन्दै योजना र रणनीति सहित अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए।
“राज्यसत्ताविरुद्ध जुन लडाइँ सुरु गरेका छौं, त्यो आजै सकिन्छ भन्ने हो भने म त आजै सत्ता परिवर्तन गर्छु, राजालाई मुकुट लगाएर नारायणहिटीमा भित्र्याउँछु,” लिङ्देनले भने, “तर हाम्रो चाहना मात्रले सम्भव हुँदैन। अहिलेको शक्ति र अवस्था हेर्दा योजना र रणनीति अनिवार्य छ।”
लिङ्देनले नेपालमा भएका ठूला राजनीतिक परिवर्तनहरू निर्वाचनमार्फत नभई जनआन्दोलनबाट भएको तथ्य औंल्याउँदै, अहिले खोजी भइरहेको परिवर्तन पनि जनताबाटै हुनुपर्ने धारणा राखे। उनले थपे, “०७ साल, २०१७ साल, २०४६ साल र २०६२/६३ सालका परिवर्तन चुनावबाट भएका थिएनन्। त्यसैले हामी प्रदर्शन, घेराउजस्ता आन्दोलनात्मक तरिकाबाट जनमत तयार पार्ने प्रयासमा छौं।”
उनले समझदारीका आधारमा पनि राजसंस्था पुनःस्थापना सम्भव हुने विश्वास व्यक्त गरे। साथै, राजाबाट लिएर वर्तमान राजनीतिक दलहरूसम्म सबैलाई समेटेर मुलुकलाई निकास दिने दिशामा अघि बढ्न आग्रह गरे।