• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

पदभार ग्रहणपछि गभर्नर पौडेल : नियम मात्रै बनाएर पुग्दैन, सुपरीवेक्षण मजबुत हुनुपर्छ

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षणलाई आफ्नो कार्यकालको प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्।

बुधबार बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा पदभार ग्रहण गर्दै गभर्नर पौडेलले संस्थागत सुपरीवेक्षण बिना नियम मात्र पर्याप्त नहुने स्पष्ट पारे। “हामीले केवल नियम बनाएर मात्र पुग्दैन, त्यसको प्रभावकारी कार्यान्वयनका लागि सुपरीवेक्षणलाई सशक्त बनाउनु आवश्यक छ,” उनले भने। साथै, कर्जाको गुणस्तर सुधारमा पनि विशेष ध्यान दिने प्रतिबद्धता जनाए।

गभर्नर पौडेलले सरकारको वित्तीय नीतिलाई सघाउन अनुकूल मौद्रिक नीति तर्जुमा गरिने जानकारी दिए। नीति निर्माणका क्रममा सरोकारवालासँग पर्याप्त छलफल र परामर्श गरिने उनले उल्लेख गरे। राष्ट्र बैंकको स्वायत्तता कायम राख्न आफू राष्ट्र बैंक ऐनको मर्मअनुसार जिम्मेवारी निर्वाह गर्ने गभर्नर पौडेलले प्रतिवद्धता जनाए।