• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

ओलीको व्यंग्य : ‘प्रचण्ड भ्रष्टाचारविरुद्ध बुरुक–बुरुक उफ्रिन्छन् !’

  • २०८२ जेठ ११, आइतबार १४:०८

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सहकारी काण्डमा संलग्न लुटेराहरूले नै उल्टै एमालेमाथि आरोप लगाउन थालेको आरोप लगाएका छन्।

आइतबार आयोजित एमाले बागमती प्रदेशस्तरीय वडाध्यक्षहरूको भेलामा सम्बोधन गर्दै उनले पार्टीमाथि अनुचित रुपमा बदनाम गर्न खोजिएको दाबी गरे।“एमालेले सहकारीमा भ्रष्टाचार गरेजस्तो गरी हामीमाथि औंला ठड्याउने काम भइरहेको छ,” प्रधानमन्त्री ओलीले भने, “सहकारी लुटेराहरू नै अहिले आफैँलाई निर्दोष देखाउँदै न्यायको भाषण गर्दै छन्।”

ओलीले ती समूहले सहकारी पीडितका नाममा आन्दोलन चलाए पनि आफैँले खाएको ऋण नतिर्ने, पैसा नफिर्ता गर्ने अनि भ्रष्टाचारविरुद्ध ठूला स्वर गर्ने दोहोरो चरित्र देखाएको आरोप लगाए। “कति निर्लज्ज! आफूले खाएको तिर्दैन, फिर्ता गर्दैन, उल्टै भाषण गर्छ,” उनले भने।

भेलामा प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति पनि तीव्र कटाक्ष गरे। “प्रचण्डको स्वर सुन्नुस्, भ्रष्टाचारविरुद्ध बुरुक बुरुक उफ्रिन्छन्,” उनले भने, “भ्रष्टहरूले नै अहिले भ्रष्टाचारविरुद्ध भाषण दिने अवस्था आयो।”

एमालेको मेची–महाकाली राष्ट्रिय अभियानलाई जनसागरले स्वागत गरेको तर माओवादीको कार्यक्रमहरूमा जनताको उपस्थिति कम रहेको उल्लेख गर्दै ओलीले भने, “माओवादीको कार्यक्रममा जनसागर उर्लिएको देखिँदैन।”

२०७४ सालतिरको राजनीतिक अवस्थालाई सम्झिँदै उनले भने, “२०६४ मा माओवादीले जनमत त पाए, तर त्यो आतंकराज, डर, धम्की, अंगभंग, हत्या, डरत्रासका कारण हो, राम्रो काम गरेर होइन।” उनले थपे, “अब न त २०६४ फर्किन्छ, न माओवादीको त्यो शक्ति फर्किन्छ।”

  • २०८२ जेठ ११, आइतबार १४:०८