• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

सीटीईभीटीको प्रवेश परीक्षा खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) द्वारा प्रवेश परीक्षा हटाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। उक्त रिटमाथि सुनुवाइका लागि जेठ २८ गतेको मिति तोकिएको छ।

परिषद्को गत वैशाख २६ गते बसेको बैठकले ‘शिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्नासम्बन्धी निर्देशिका २०८२’ जारी गर्दै अबदेखि विद्यार्थी छनोट प्रवेश परीक्षाविना, एसईईमा प्राप्त ग्रेड बिन्दु (GPA) को आधारमा हुने व्यवस्था गरेको थियो।

नयाँ निर्देशिकाअनुसार निजी विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि ०.८५ र सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १.० गुणाङ्क दिइने व्यवस्था गरिएको छ। सोही आधारमा योग्यता सूची तयार पारिने निर्णय गरिएको छ।

तर, सो निर्णय संविधानले प्रत्याभूत गरेको समान संरक्षणको हकविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो। रिटमा निजी विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूलाई भेदभाव गरिएको, उनीहरूलाई शिक्षाबाट वञ्चित बनाउने खालको नीति अपनाइएको, र प्रवेश परीक्षा नलिई GPA मात्रका आधारमा विद्यार्थी छनोट गर्नु असमान तथा अन्यायपूर्ण भएको उल्लेख छ।

त्यस्तै, आर्थिक, सामाजिक, मानसिक वा शारीरिक कारणले अपेक्षित GPA नल्याएका विद्यार्थीहरू प्रतिस्पर्धाबाट स्वतः बहिष्कृत हुने स्थिति सिर्जना हुने भन्दै निर्देशिका खारेज गर्न परमादेश जारी गर्न माग गरिएको छ। रिट निवेदकहरूले निर्देशिकालाई “अपरिपक्व र विभेदकारी” भन्दै शिक्षामा पहुँच र समान अवसर सुनिश्चित गर्ने संवैधानिक मर्मको उल्लंघन भएको जिकिर गरेका छन्।