• २०८३ असार ७
  • 2026 June 21, Sunday

विपक्ष आक्रोशित: गृहमन्त्रीको राजीनामा माग, कांग्रेस चोख्याउने प्रयासमा

  • २०८२ जेठ १३, मङ्गलबार १०:५६

काठमाडौं।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ‘भिजिट भिसा’को नाममा भइरहेको मानव तस्करीमा गृह मन्त्रालयसमेत मुछिएपछि गृहमन्त्री रमेश लेखकको राजीनामाको माग चुलिएको छ।

सोमबार बिहान बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठेको भन्दै नैतिकताका आधारमा तुरुन्त राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो। बैठकपछि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, “नैतिकताको आधारमा राजीनामा दिन चौतर्फी आवाज उठिरहेको छ।

कांग्रेसभित्रै पनि सो आवाज उठेको छ। हाम्रो निष्कर्ष हो—राज्यका निकायले छानबिन सुरु गरिसकेको अवस्थामा गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ, ताकि शक्ति दुरुपयोग नहोस् र निष्पक्ष छानबिन सम्भव होस्।”उनले ढिलो निर्णयले राज्यको साखमा आँच आउने चेतावनी पनि दिए।यता, अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि गृहमन्त्री र उनको सचिवालय नै मानव तस्करी प्रकरणमा संलग्न रहेको दाबी गर्दै राजीनामाको माग गरेको छ।

सोमबार सार्वजनिक गरिएको पार्टीको केन्द्रीय समिति बैठकको निर्णयमा भनिएको छ, “गृहमन्त्री र उनको सचिवालय नै ‘भिजिट भिसा’मार्फत मानव तस्करीमा संलग्न रहेको सार्वजनिक भइसकेको अवस्थामा उनले तत्काल राजीनामा दिएर निष्पक्ष अनुसन्धानमा सघाउनुपर्छ।”रास्वपाले उक्त माग कार्यान्वयनका लागि आफ्ना संसदीय दललाई संसदमा आवश्यक प्रभावकारी कदम चाल्न निर्देशन दिने निर्णय पनि गरेको छ।

  • २०८२ जेठ १३, मङ्गलबार १०:५६