• २०८३ असार ७
  • 2026 June 21, Sunday

गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी, संसद बैठक स्थगित

  • २०८२ जेठ १३, मङ्गलबार १२:१७

काठमाडौं। गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरूको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक ३० मिनेटका लागि स्थगित गरिएको छ।

‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री मुछिएको आरोप लगाउँदै विपक्षीहरूले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेका थिए। सदन अवरोध भएपछि सभामुखले बैठक आजै पुनः बस्ने गरी स्थगित गरेका हुन्।

प्रतिनिधि सभाको प्रारम्भमै माओवादी केन्द्रका उपमहासचिव तथा सांसद वर्षमान पुनले यो सामान्य भ्रष्टाचार नभई संगठित मानव तस्करीको मुद्दा भएको दाबी गरे। उनले अख्तियारले मुख्य आरोपी ठहर्याएका तीर्थ भट्टराई गृहमन्त्रीकै अग्रसरतामा अध्यागमन विभागमा पठाइएको उल्लेख गर्दै गृहमन्त्रीको सचिवालय प्रत्यक्ष संलग्न रहेको आरोप लगाए। साथै, उनले गृहमन्त्रीलाई राजीनामा दिई छानबिनमा सहयोग गर्न आग्रह गरे।

त्यसपछि रास्वपाका सांसद शिशिर खनालले उच्चस्तरीय छानबिन आयोग गठन नभएसम्म संसद नचल्न दिने घोषणा गरे। उनले त्रिभुवन विमानस्थलमा राजनीतिक संरक्षणमा ‘लुटको धन्दा’ सञ्चालन भइरहेको आरोप लगाए। साथै, गृहमन्त्रीले विवादास्पद पृष्ठभूमिका सहसचिवलाई अध्यागमन विभागमा पठाउनुका पछाडि पनि स्वार्थ रहेको शंका व्यक्त गरे।

खनालले प्रहरीबाट हुने अनुसन्धानप्रति आशंका व्यक्त गर्दै निष्पक्ष छानबिनका लागि आयोग गठन अपरिहार्य रहेको बताए। पुन र खनालको भनाइपछि विपक्षी सांसदहरू नाराबाजीमा उत्रिएपछि सभामुखले बैठक स्थगित गरिएको घोषणा गरे।

  • २०८२ जेठ १३, मङ्गलबार १२:१७