• २०८३ साउन ७
  • 2026 July 23, Thursday

सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु

काठमाडौं। म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरो खस्दा एक जनाको ज्यान गएको छ।

दरखोला जलविद्युत् आयोजना अन्तर्गत पाइपलाइन राख्नका लागि निर्माणाधीन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्दै गर्दा पहिरो खस्दा एक्साभेटर चालक ३२ वर्षीय खेमराज कुमालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

स्याङ्जा चापाकोट नगरपालिका–८ का कुमालको शव एक्साभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको थियो। शव परीक्षणका लागि प्रदेश अस्पताल बेनी पठाउने तयारी भइरहेको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम तिवारीले जानकारी दिए।

घटनापछि प्रहरी र स्थानीयवासीले पहिरो हटाई शव निकालिएको छ। पहिरोका कारण एक्साभेटर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। दरखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ६.५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाले ‘पेनस्टक पाइप’ बिछ्याउन लाम्पुस भीर क्षेत्रमा सडक निर्माण गरिरहेको बेला दुर्घटना भएको हो।