धादिङको थाक्रे गाउँपालिका–७ मा रहेको सोताङ खोलाको पुलमा भ्वाङ परेपछि पूर्णरूपमा ठप्प भएको यातायात अहिले वैकल्पिक मार्गमार्फत पुनः सञ्चालनमा आएको छ। बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार पुलमुनि डाइभर्सन बनाएर वैकल्पिक बाटो खोलिएको हो।
पुलमा क्षति पुगेपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका थिए। अहिले भने दुवैतर्फबाट सवारी साधनहरू आलोपालो गर्दै चलाइएको सुवेदीले जानकारी दिए। सुरुमा एम्बुलेन्स र अन्य अत्यावश्यक सेवाका सवारीहरूलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको पनि उनले बताए।
पुल अवरुद्ध हुँदा वारितर्फ जाने सवारी वारि र पारितर्फका गाडी पारीमै रोकिएका थिए। अब वैकल्पिक मार्ग खुलाएसँगै विस्तारै स्थिति सामान्य बन्दै गएको छ ।