नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकमा देशका ज्वलन्त मुद्दामा नभई, आफ्ना बारेमा मात्रै छलफल केन्द्रित भएकोमा आश्चर्य व्यक्त गरेका छन्।
कोइरालाले आफूले बैठकमा प्रधानमन्त्रीले १५ जेठमा काठमाडौं कब्जा गर्न कार्यकर्तालाई दिएको निर्देशनलगायत संवेदनशील विषयमा छलफल हुने अपेक्षा गरेको तर त्यसको सट्टा बैठक आफ्नो बारेमा मात्र केन्द्रित भएको थाहा पाउँदा चकित भएको बताएका छन्।
बिराटनगरमा आयोजित नेपाल नाई संघको राष्ट्रिय परिषद् उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले प्रधानमन्त्रीको पद केवल व्यक्तिको होइन, संस्थाको पनि प्रतिनिधित्व गर्ने भएकाले त्यस पदमा बसेको व्यक्तिको अभिव्यक्तिले गहिरो असर पार्ने बताए। उनले प्रधानमन्त्रीको मुठभेड शैलीको भाषाको विपक्षमा कांग्रेसले आधिकारिक रूपमा केही नबोल्नु दुर्भाग्यपूर्ण भएको बताए।
साथै, उनले कांग्रेसले पछिल्ला दिनमा आफ्नो सैद्धान्तिक स्पष्टता गुमाउँदै गएकामा गम्भीर चिन्ता व्यक्त गरे। ‘प्रधानमन्त्री जे गरे पनि कांग्रेसले चुप बसिरहनुपर्ने बाध्यता के हो?’ भन्ने प्रश्न गर्दै उनले पार्टीभित्र गम्भीर आत्मसमीक्षा आवश्यक रहेको जनाए।