
बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा एक महिलासहित दुई बालिकाको निर्मम हत्या भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार हत्या भएकाहरूमा अन्दाजी ३४ वर्षीया दीपा बस्याल र उनका दुई छोरी ७ वर्षीया स्नेहा तथा ४ वर्षीया हिमानी छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, उक्त जघन्य अपराध सुजन कोइरालाले गरेका हुन्, जो मृतक दीपाका पूर्वपति हुन्। सुजनले केही वर्षअघि आफ्नै दाजुको हत्या गरी जेल सजाय भोगेका थिए। तर संविधान दिवसको अवसरमा कैद माफी पाएर उनी छुटेका थिए।
दीपा र सुजनबीच सम्बन्धविच्छेद भइसकेको थियो। सम्बन्धविच्छेदपछि दीपाले नवलपरासीका शंकर ढकालसँग पुनः विवाह गरेकी थिइन्। हत्यामा परेका दुई बालिकाहरू शंकर ढकालका सन्तान हुन्।
प्रहरीका अनुसार, सुजनले दीपालाई आफ्नै बुटवलस्थित घरमा बोलाएर बुधबार बिहान करिब ४ बजेको समयमा हत्या गरेका हुन्। तीनै जनाको शवमा घन र चक्कु प्रहार गरिएको पाइएको छ।
घटना सार्वजनिक भएपछि प्रहरीले सुजनलाई नियन्त्रणमा लिएको छ र थप अनुसन्धान अघि बढाइएको जनाएको छ।
मृतक दीपा बस्याल पाल्पाको तानसेन नगरपालिका–७ स्थित कुनसरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी थिइन्।