• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

गभर्नर पौडेलविरुद्धको रिट आज न्यायाधीश मुसलमानको इजलासमा सुनुवाइ

काठमाडौं ।  गभर्नर विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ।

अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलद्वारा मंगलबार दायर गरिएको रिटको सुनुवाइ न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा तोकिएको हो।

रिटमा पौडेललाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार आवश्यक विज्ञता नपुगेको व्यक्तिका रूपमा उल्लेख गर्दै उनको नियुक्ति बदर गर्न माग गरिएको छ। साथै, नियुक्ति प्रक्रिया, सिफारिस र शपथसमेत गैरकानुनी ढंगले गरिएको दाबी गरिएको छ।

अधिवक्ताहरूले नेपालको संविधानको धारा १३३(२) र (३) अनुसार उत्प्रेषण आदेशमार्फत गभर्नरको हैसियतमा पौडेलले राष्ट्रको हितमा असर पार्ने कुनै पनि निर्णय नगर्न/नगराउन प्रतिषेध मिश्रित परमादेश माग गरेका छन्। उनीहरूले नोटमा हस्ताक्षरजस्ता संवेदनशील जिम्मेवारी पनि रोक्न आग्रह गरेका छन्।

यसअघि पनि यी अधिवक्ताहरूले पौडेलको गभर्नर नियुक्ति रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। तर, प्रशासनले रिट दरपिठ गरेको र सो निर्णय इजलासबाट पनि सदर भएको थियो।