भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार मात्रै कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ जना नयाँ संक्रमित थपिएका छन्। सबैभन्दा धेरै संक्रमित केस केरलमा देखिएको छ, जहाँ ४३० सक्रिय संक्रमित छन्। गुजरातमा भने १३ जना संक्रमित निको भएका छन्।
उत्तर प्रदेशको फिरोजाबादमा ७८ वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको छ। यो उत्तर प्रदेशमा नयाँ भेरियन्टका कारण भएको पहिलो मृत्यु हो। यस्तै, महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा थप ११ जनाको मृत्यु भइसकेको छ, जससँगै भारतमा हालसम्मको मृत्यु संख्या १२ पुगेको छ।
चार नयाँ भेरियन्टको पुष्टि
भारतीय चिकित्सा अनुसन्धान परिषद् (ICMR) का निर्देशक डा. राजीव बहलका अनुसार भारतमा हालसम्म चार नयाँ भेरियन्टहरू — एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ — पत्ता लागेका छन्। यीमध्ये केही दक्षिण र पश्चिम भारतका संक्रमित नमूनाहरूको जीन अनुक्रमणबाट पहिचान गरिएका हुन्।
डा. बहलका अनुसार अहिलेको अवस्था गम्भीर त होइन, तर सतर्कता अपनाउनु आवश्यक छ। विश्व स्वास्थ्य संगठन (WHO) ले पनि यी भेरियन्टहरूलाई ‘चिन्ताजनक’ नभई ‘निगरानी गर्नुपर्ने’ श्रेणीमा राखेको छ।
भारतमा हाल सबैभन्दा बढी देखिएको भेरियन्ट जेएन.१ हो, जुन परीक्षण गरिएका आधा भन्दा बढी नमूनामा फेला परेको छ। त्यसपछि बीए.२ (२६%) र ओमिक्रोनका अन्य उपप्रकार (२०%) देखिएका छन्।
जेएन.१ भेरियन्ट ओमिक्रोनको बीए.२.८६ स्ट्रेनबाट उत्पन्न भएको हो, जुन पहिलो पटक अगस्ट २०२३ मा देखिएको थियो र डिसेम्बरमा डब्लुएचओले ‘वेरिएन्ट अफ इन्टरेस्ट’ भनेर सूचीबद्ध गरेको थियो। यसमा करिब ३० प्रकारका म्युटेसन छन्, जसले शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउन सक्छ।
लक्षण र प्रभाव
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार जेएन.१ छिटो फैलिने भए पनि यसले गम्भीर अवस्था ल्याउने सम्भावना कम हुन्छ। विश्वका थुप्रै देशहरूमा यो नै प्रमुख भेरियन्ट बनेको छ। त्यस्तै, एनबी.१.८.१ मा रहेका प्रोटिन म्युटेसनका कारण यो भेरियन्ट पनि छिटो फैलिन्छ र अघिल्लो संक्रमण वा खोपबाट बनेको प्रतिरक्षालाई छल्न सक्छ।
विशेषज्ञहरूका अनुसार जेएन.१ भेरियन्टको लक्षण केही दिनदेखि लिएर हप्तौँसम्म रहन सक्छ। यदि लक्षणहरू लामो समय टिके भने ‘लङ्ग कोभिड’ हुन सक्ने खतरा रहन्छ, जसमा संक्रमित व्यक्ति निको भइसकेपछि पनि थकान, खोकी, सास फेर्न गाह्रो हुनेजस्ता लक्षणहरू लामो समयसम्म देखिन सक्छन्।