रास्वपा सांसद गणेश पराजुलीले सभामुख देवराज घिमिरेमाथि पक्षपात गरेको आरोप लगाएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गरिरहेका विपक्षी दलहरूलाई बोल्न नदिएको भन्दै पराजुलीले सभामुखले सत्तापक्षलाई बोल्न दिने शर्तमा मात्रै कार्यवाही अघि बढाउने प्रयास गरेको बताए।
सांसद पराजुलीका अनुसार, सभामुखले दलीय सहमतिमा मात्रै बोल्ने व्यवस्था मिलाउने चेतावनी दिएपछि विपक्षीलाई अवसर नदिइएको हो। संसद् बैठक स्थगित भएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘सार्वभौम सदनमा जनताको आवाज लिएर उपस्थित भएको प्रतिपक्षलाई बोल्न समय उपलब्ध गराइएन। सत्तापक्षलाई बोल्न दिने भए दिने नत्र नदिने भनेर सभामुखले पनि बार्गेनिङ गर्नुभयो। त्यसले लज्जाबोध भएको छ।’ सभामुख स्वयंले सत्तापक्षसँग बार्गेनिङ गरेर मात्रै बोल्ने अनुमति दिने कुरा लाजमर्दो छ।
उनले प्रतिपक्षको माग यथावत् रहेको दोहोर्याउँदै गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् सञ्चालन गर्न नदिने स्पष्ट पारे।