गणतन्त्र दिवसका अवसरमा जेठ १५ गतेका लागि राजधानीमा उच्च सतर्कतासहितको सुरक्षा व्यवस्था मिलाइने भएको छ। २०६५ सालदेखि मनाइँदै आएको गणतन्त्र दिवस यसपटक थप संवेदनशील मानिएको छ, किनकि सत्तारुढ नेकपा (एमाले)ले उत्सव मनाउने र राप्रपासहितका राजावादी समूहले ‘जनआन्दोलन’को कार्यक्रम घोषणा गरेका छन्।
बिहान टुँडिखेलस्थित सैनिक मञ्चमा हुने औपचारिक समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहने भएकाले सुरक्षाकर्मीहरू बिहानैदेखि खटिने छन्। समारोह सकिएपछि संसद्मा प्रस्तुत हुने आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणका लागि नयाँ बानेश्वर क्षेत्रको सुरक्षा पनि उच्च प्राथमिकतामा राखिएको छ।
काठमाडौं उपत्यकामा ३ हजार प्रहरी बल स्ट्यान्डबाई अवस्थामा राखिएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार जिल्लास्तरीय सुरक्षा योजना आज बेलुकासम्म तय हुनेछ। हालसम्म एमालेलाई भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति दिइएको छ भने राप्रपाको प्रदर्शनका लागि स्थान तय गरिएको छैन।
प्रहरीले कुनै पनि अराजक गतिविधि सहन नहुने भन्दै, आवश्यक स्रोतसाधनसहित तयारी अवस्थामा रहेको जनाएको छ। राष्ट्रपति सवार योजनाबारे तयारी पूरा भइसकेको र बाँकी योजना जिल्ला सुरक्षा समितिको बैठकपछि तय गरिने काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताएका छन्।