• २०८३ असार ७
  • 2026 June 21, Sunday

राष्ट्रपति पौडेल र न्यूजिल्याण्डका उपप्रधानमन्त्री पिटर्सबीच द्विपक्षीय सहकार्यबारे छलफल

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग न्यूजिल्याण्डका उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री विन्स्टन पिटर्सले बुधबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका क्रममा राष्ट्रपति पौडेलले नेपाल सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा अघि बढिरहेको उल्लेख गर्दै व्यापार, लगानी र विकास सहकार्यका लागि न्यूजिल्याण्डको सहयोगको अपेक्षा व्यक्त गरे।

उनका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका चुनौतीहरू, विशेषगरी हिमालय क्षेत्रमा देखिएको प्रभावका बारेमा समेत जोड दिँदै साझा प्रयासको आवश्यकता औँल्याए।

राष्ट्रपति पौडेलले सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथा आरोहण गरेको ७०औँ वार्षिकोत्सव “सगरमाथा–७०” दुवै देशले संयुक्त रूपमा मनाएको उल्लेख गर्दै त्यसले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ बनाएको बताए।

उनले हिलारीले स्थापना गरेको ‘हिमालयन ट्रस्ट’ मार्फत जनस्तरमा सम्बन्ध विस्तारमा उल्लेखनीय योगदान भएको पनि बताए।भेटमा न्यूजिल्याण्डका उप–प्रधानमन्त्री पिटर्सले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा नेपालले पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले जलवायु परिवर्तनको प्रभाव र यसको समाधानका लागि सबै देशको सहभागिता आवश्यक रहेको धारणा राखे।

साथै, उनले न्यूजिल्याण्डमा बसोबास गरिरहेका नेपाली समुदायले दुई देशबीच जनस्तरको सम्बन्ध मजबुत बनाउन भूमिका खेलेको उल्लेख गर्दै, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति अवसर विस्तार गर्न तथा शिक्षा सहकार्य बलियो बनाउन न्यूजिल्याण्ड इच्छुक रहेको जानकारी दिए।