• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

माधव नेपालको पूर्वराजालाई चुनौती : शासन गर्न चाहनुहुन्छ भने चुनाव लड्नुस्

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै मुलुक सञ्चालन गर्न चाहने हो भने जनताको समर्थनबाट अघि बढ्न चुनौती दिएका छन्।

गणतन्त्र दिवसको अवसरमा बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन्।उनले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने स्पष्ट गर्दै, देशमा वंशवादी शासन प्रणाली अब स्वीकार्य नहुने बताए।

“गणतन्त्रको विकल्प भनेको समुन्नत गणतन्त्र नै हो,” उनले भने, “बाबु नभए छोरा, छोरा नभए नाति, अनि पनाति जन्मिएपछि उसलाई शासनको जिम्मा दिने कुरा हामी स्वीकार्दैनौं।”

पूर्वराजासहित राजतन्त्र पक्षधरहरूलाई लक्षित गर्दै अध्यक्ष नेपालले भने, “मुलुक चलाउने चिन्ता छ भने चुनावी प्रतिस्पर्धामा आउनुस्। जनताको मन जितेर प्रधानमन्त्री बन्नुस्। हामी प्रतिस्पर्धाका लागि तयार छौं।”

उनले हाल देशमा राजतन्त्रको पक्षमा चर्किएको बहसप्रति संकेत गर्दै इतिहासलाई पछाडि धकेल्ने प्रयास सफल नहुने चेतावनी पनि दिए। “मुलुकलाई प्रतिगामी दिशामा लैजान खोजिएको छ, तर त्यो सम्भव छैन, सम्भव हुन पनि दिइने छैन,” उनले भने।

अध्यक्ष नेपालले गणतन्त्र स्थापनामा आफ्नो पार्टीको अग्रगामी भूमिका रहेको उल्लेख गर्दै वर्तमान परिवर्तन आम जनताको चाहनाबाट आएको दाबी गरे। “अबको आवश्यकता भनेको परिवर्तनलाई संस्थागत गर्दै सुदृढ बनाउनु हो,” उनले जोड दिए।