काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले यसमा कुनै प्रकारको टिप्पणी नगर्ने स्पष्ट पारेका छन्।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो विषय अदालतमै निष्पक्ष रूपमा समाधान हुनुपर्ने बताए। उनले पूर्वप्रधानमन्त्री नेपालको प्रतिष्ठा एवं पदको सम्मान गर्दै मुद्दा संवेदनशील ढंगले टुंग्याउनुपर्नेमा जोड दिए।
महामन्त्री थापाले कांग्रेसको आगामी महाधिवेशनअघि नै क्रियाशील सदस्यता टुंगो लगाउनु आवश्यक रहेको उल्लेख गरे। उनका अनुसार पार्टीका सबै नेताहरूले आफ्नो निर्वाचन क्षेत्रमा सदस्यता नवीकरण र छिनोफानोको काम चाँडो सम्पन्न गर्नुपर्छ।
उनले पार्टीभित्र आन्तरिक जिम्मेवारी समयमै पुरा हुनुपर्ने धारणा राखे। सरकारको सफलता सुनिश्चित गर्न कांग्रेस पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै उनले जनताका अपेक्षा अनुसार काम गर्नुपर्ने आवश्यकता औंल्याए।
थापाले वर्तमान सरकारका कामहरूको समीक्षा गरिनुपर्ने उल्लेख गर्दै, जनताको मन जित्ने खालका नीति तथा कार्यक्रम अघि बढाउनुपर्ने सुझाव पनि दिए।
