• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

अमेरिकाले विद्यार्थी भिसा पुनः खुला गर्‍यो, सामाजिक सञ्जाल हेरेर मात्र भिसा दिइने

अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि विद्यार्थी भिसा आवेदन पुनः सुरु गरेको छ। तर अबदेखि सबै आवेदकहरूले आफ्नो सामाजिक सञ्जाल (सोसल मिडिया) खाता खुला गर्नुपर्नेछ, जसको आधारमा उनीहरूको भिसा निर्णय गरिनेछ।

बुधबार सार्वजनिक गरिएको विज्ञप्तिमा मन्त्रालयले दूतावासका अधिकारीहरूले आवेदकका सामाजिक सञ्जालमा रहेका अमेरिका, त्यसको सरकार, संस्कृति, संस्था वा स्थापना मूल्यहरू विरुद्धको कुनै पनि आक्रोशपूर्ण पोस्ट वा सन्देश जाँच गर्ने जनाइएको छ।

यदि कुनै विद्यार्थीले सामाजिक सञ्जाल देखाउन अस्वीकार गरे भने, उनीहरूको भिसा अस्वीकार हुने सम्भावना रहेको मन्त्रालयको भनाइ छ। मन्त्रालयले सामाजिक सञ्जाल नदेखाउनुलाई व्यवहार लुकाउन वा सुरक्षा परीक्षणबाट बच्न खोजिएको संकेतका रूपमा बुझिने बताएको छ।

गत महिना ट्रम्प प्रशासनले सामाजिक सञ्जाल परीक्षण कडा पार्नका लागि नयाँ विद्यार्थी भिसा अन्तर्वार्ता रोकिएको जनाएको थियो। अब विद्यार्थी भिसाका लागि सम्बन्धित दूतावासबाट अन्तरवार्ताका लागि समय लिन पाउने भएका छन् ।