केरलादेखि नेपालसम्म तीन दिनमा ३५०० किलाेमिटर : मानवीय सेवाको अद्भुत यात्रा

केरला । कोट्टायमका दुई एम्बुलेन्स चालक — सजिमोन र शैजु — ले हालै एउटा साहसिक यात्रा पूरा गर्दै ३,५०० किलोमिटर लामो दूरी पार गरे। उनीहरूले एक शैय्यावद्ध नेपाली प्रवासी मजदुर र उनका छोरालाई नेपालको दुर्गम गाउँसम्म जम्मा तीन दिनमै पुर्‍याए, त्यो पनि अपरिचित सडक, जंगल, प्रहरीको झन्झट र बाटोमा ठगीको प्रयास झेलेर।

यो यात्रा जुन १३ मा सुरु भयो। कोडिमाथा, कोट्टायम स्थित अभया इमर्जेन्सी सर्भिसलाई एउटा आपतकालीन फोन आयो। काञ्जिरापल्लीको रबर कारखाना जहाँ ४५ वर्षीय गणेश बहादुर काम गर्थे, उनले मे २४ मा हृदयाघातपछि बेहोस भएर ढलेपछि उनलाई पालाको निजी अस्पतालमा भर्ना गरिएको थियो। शल्यक्रिया र हप्तौंको उपचारपछि उनी अझै पनि शैय्यावद्ध थिए, र उनलाई घर फर्काउन एम्बुलेन्स नै एक मात्र विकल्प थियो।

सजिमोन र शैजु तुरुन्तै सक्रिय भए। बेलुकासम्म अस्पताल पुगेर उनीहरूले ढिलो नगरी यात्रा सुरु गरे। “हामीसँग एउटै लक्ष्य थियो — सक्दो चाँडो घर पुर्‍याउने। हामी इन्धन हाल्न, खान र बिरामीलाई ट्युवबाट खाना खुवाउनमात्र रोकिन्थ्यौं,” शैजु सम्झन्छन्। गणेशका साथ उनका छोरा जमु र एक छिमेकी थिए। “छोराले हिन्दी बोल्दैनथे, तर छिमेकीले बोल्थे। हामी सारा कुराकानी उनीमार्फत गर्थ्याे,” उनी भन्छन्।

भारतका थुप्रै राज्यमा यात्रा गरेको अनुभव भए पनि यो पहिलोपटक उनीहरूले सीमा पार गर्दै नेपाल प्रवेश गरेका थिए। तर यात्रा सोचेजस्तो सजिलो भएन।

उत्तर प्रदेशमा प्रहरीले राति एम्बुलेन्स रोके। ‘साइरन बजिरहेको थियो, बिरामी गाडीमै थिए, तर प्रहरीले हामीलाई रोकेर नाम, आईडी, बुबाको नाम समेत सोधे। लाग्थ्यो, धर्मको आधारमा अनुसन्धान गर्दै छन्,’ शैजु भन्छन,’ महाराष्ट्रमा, प्रहरीले भारू ७,५०० घूस मागे। हामीले भारू ५०० दिएर अगाडि बढ्यौं। बहस गर्ने समय नै थिएन,’ उनी भन्छन्।

यात्राको थप संकट यूपीमा देखियो जब उनीहरूको एम्बुलेन्स अर्को गाडीमा हल्का ठोक्कियो। सुरुमा क्षमायाचनासहित समस्या समाधान भए पनि, सोही गाडीका केही मानिसले पछि बाटोमै रोक्दै गाडीको चाबी खोसेर पैसा मागे। स्थितिको गम्भीरता देखेर चालकहरूले साइरन बजाए र वरिपरिका मानिसले बिरामी भएको थाहा पाएपछि ती समूह तितरबितर भए।

भारत–नेपाल सीमामा पुग्दासम्म, स्थानीयले एक जंगलमार्ग राति लुटपाटको डर भएकाले नहिडन सल्लाह दिए। ‘हामीले ५० किलोमिटर लामो भए पनि सुरक्षित बाटो रोज्यौं,’ शैजु भन्छन्।

जुन १६ बिहान, उनीहरू नेपाल प्रवेश गरे तर अझै पनि २५० किलोमिटर यात्रा बाँकी थियो। अन्तिम ७० किलोमिटर एकदमै गाह्रो थियो — घना जंगल, नयाँ बाटो निर्माण हुँदै थियो, अधिकांश बाटो पहिलो गियरमै पार गर्नुपर्‍यो। यो खण्ड पार गर्न सात घण्टा लाग्यो।

अन्ततः साँझतिर उनीहरू बरुवा गाउँ पुगे। गणेशका बुबा, आमा, श्रीमती, छोरी र गाउँलेहरूले हात जोरेर भावुक स्वागत गरे। ‘हामी पनि भावविभोर भयौं,’ शैजु भन्छन्। अचम्मको कुरा, त्यहाँको एक व्यक्तिले धेरै राम्रो मलयालम बोल्थे। ‘उनी विगतमा केरला बसेका रहेछन्। उनी हाम्रो दुभाषे बनेर चार घण्टा सँगै बसे,’ शैजु भन्छन्।

दुबै चालक केवल चार घण्टा गाउँमा बसे — खाएर, नुहाएर अलिकति विश्राम गर्न। ‘परिवारले रात बस्न अनुरोध गरे, तर हामी तुरुन्तै फर्कनु थियाे,’ शैजु भन्छन्।

जुन २० बिहान, उनीहरू फेरि कोट्टायम फर्किए। ‘केरलाबाहिरको गर्मी सहनै नसकिने थियो। हामी जब गयौं, वर्षा थियो; फर्केर आएसम्म अर्को पानी परेन। तर भारतभरिका राजमार्गहरू राम्रो भएकोले गति कायम गर्न सकेँ,’ शैजु भन्छन्।

गणेशका छोरा र छिमेकीले केरला पुग्न ५ दिन लगाएका थिए, तर गणेशको नाजुक अवस्थाले गर्दा फर्कने यात्रा छोटो राखिएको थियो। कुल यात्रा खर्च भारू २ लाख बराबरको थियो, जुन कारखानाले बेहोरेको हो। ‘हामीले यसअघि पनि उनीहरूलाई सहयोग गरेका छौं — प्रायः मृतक प्रवासी मजदुरका शव घर लैजान,’ सजिमोन भन्छन्।

जिउँदो बिरामीहरूको हकमा, केवल स्थिर अवस्थाका बिरामीलाई लैजाने गरिन्छ, तर आपतकालीन स्थितिमा तुरुन्तै उपचारको व्यवस्था गर्ने तालिम पाएका सहयाेगी भएमात्र । ‘यसकारण यस्तो अवस्थामा सडक यात्रा उडानभन्दा सुरक्षित मानिन्छ — आवश्यक परे नजिकको अस्पताल पुग्न सकिन्छ,’ शैजु भन्छन्।

यो कथा साधारण चालकहरूको असाधारण साहस, संवेदना र मानवीय सेवाको ज्वलन्त उदाहरण हो — जसले सीमा पार गरेर पनि मानवीयता कायम राख्ने प्रेरणा दिन्छ।

onmanorama.com मा प्रकाशित।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१