• २०८३ असार १३
  • 2026 June 27, Saturday

सवारी ज्यान मुद्दाका फरार अभियुक्त २१ वर्षपछि पक्राउ

सवारी ज्यान तथा अंगभंग मुद्दामा दोषी ठहर भई २१ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई बागलुङ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको टोलीले बागलुङ नगरपालिका– १० निवासी ४७ वर्षीय हेमन्त बहादुर शाहीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, बागलुङका अनुसार शाहीलाई पर्वत जिल्ला अदालतले २०६१ साल चैत २ गते सवारी ज्यान तथा अंगभंग मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष ११ महिना १३ दिन कैद र ९ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

अदालतको फैसलापछि फरार रहेका शाहीलाई प्रहरीले असार १२ गते पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि बागलुङ जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी, प्रहरी निरीक्षक सुनिल शर्मा चिलुवालले जानकारी दिए।