• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेपालले भुटानलाई २९८ रनले हरायाे, विपिनले लिए ४ विकेट

काठमाडौं । नेपालले मलेसियामा जारी एसिसी मेन्स यु -१६ कपमा लगातार चौथो जित दर्ता गरेको छ । सिलेगंर ट्रफ क्लबमा आज भएको खेलमा नेपालले भुटानलाई २९८ रनले पराजित गरेको हो ।

३५८ रनको विशाल योगफल पछ्याएकाे भुटान ३२.४ ओभरमा सबै विकेट गुमाएर मात्र ६० रनमा समेटियाे । क्रिजमा भुटानी ब्याट्सम्यानहरूलाई निरन्तर दबाब झेल्न निकै गाह्रो भयो। उनीहरूको रन रेट १.८५ मा झरेकाे थियाे । भुटानका लागि त्सेझांग दावाले सर्वाधिक १४ रन बनाए, तर अन्य कुनै पनि ब्याट्सम्यानले दाेहाेराे रन छुन सकेनन्।

बलिङमा नेपाल कप्तान विपिनप्रसाद शर्माले धारिलो बलिङ गरे । उनले १० ओभरमा अविश्वसनीय ७ रन खर्चेर ४ विकेट लिए । सुयोग भट्टराई र सचिन भट्टकाे नाममा समान दुई/दुई विकेट रह्याे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेपछि मैदानमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन जोडेको थियाे । नेपालका लागि रौनक श्रीवास्तवले सानदार शतकीय पारी खेले । उनले १३२ बलमा १६८ रन प्रहार गरे ।

उनको शतक नै नेपालको विशाल स्कोरको मुख्य आधार बन्यो। त्यसैगरी, जोय थापाले ६७ बलमा ६१ रन जोड्दा विकेटकिपर ब्याट्सम्यान शिवंश बजगाईंले ५२ बलमा ५४ रनको अर्धशतकीय पारी खेले। यस्तै, सुगम बुढाथोकीले ३३ बलमा ३५ रनको महत्त्वपूर्ण योगदान दिए।

भुटानका बलरहरूमध्ये साङ्गे दोर्जीले १० ओभरमा ७० रन खर्चेर ३ विकेट लिए। समूहको शीर्ष स्थानमा रहँदै नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेकाे छ । पहिलो खेलमा सिंगापुर, दोस्रोमा जापान तथा तेस्रोमा इण्डोनेसियालाई हराएको थियो। प्रतियोगिताको फाइनल असार २१ मा हुनेछ । नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो ।