• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

एएफसी महिला एसियन कप छनोट :शीर्ष स्थानको दौडमा नेपाल आज श्रीलंकासँग भिड्दै

एएफसी महिला एसियन कप २०२६ को छनोटअन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा नेपालले आज साँझ श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। उज्वेकिस्तानमा जारी प्रतियोगितामा दुबै टिमबीचको खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ।

यसअघिको खेलमा नेपालले लाओसलाई ९-० गोलले पराजित गर्दै बलियो सुरुवात गरेको थियो। उक्त खेलमा कप्तान सावित्रा भण्डारी साम्बाले पाँच गोलसहित कप्तानी पदार्पणलाई ऐतिहासिक बनाएकी थिइन्।

श्रीलंकाले भने आफ्नो पहिलो खेलमा आयोजक उज्वेकिस्तानसँग १०-० को भारी हार व्यहोरेको थियो।

सन् २०१० यता नेपाल र श्रीलंकाबीच भएको आठै खेलमा नेपाल विजयी भएको छ। ती खेलहरूमा नेपालले ३० गोल गर्दा अहिलेसम्म श्रीलंकाबाट कुनै गोल खानु परेको छैन।

गत वर्षको साफ च्याम्पियनसिपमा पनि नेपालले श्रीलंकालाई ६-० ले हराएको थियो।

समूहको विजेता मात्र २०२६ मा अस्ट्रेलियामा आयोजना हुने एसियन कपमा स्थान बनाउने भएकाले नेपालले अन्तिम खेलमा आयोजक उज्वेकिस्तानसँग भिड्नुअघि श्रीलंकाविरुद्ध ठुलो अन्तरको जित निकाल्न लक्ष्य बनाएको छ ।