सर्वोच्चले शून्यमा झार्‍यो ८ वर्ष पुराना मुद्दा

काठमाडौँ । सर्वोच्च अदालतले आठ वर्ष नाघेका मुद्दाहरू शून्यमा झारेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुमा ३०९ वटा ८ वर्ष पुराना मुद्दा रहेकोमा ती सबै फर्छ्यौट भएको अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए ।

उनका अनुसार दुई वटा मुद्दाको भने फैसला सुनाउन बाँकी छ ।  ‘८ वर्ष पुराना सबै मुद्दाको फर्छ्यौट भएको छ । दुई वटा मुद्दाको सुनुवाइ सकिएर असार २४ गते निर्णय सुनाउने मिति तोकिएको छ,’ उनले भने ।अब सर्वोच्चमा सात वर्ष पुराना मुद्दा १८२ र ६ वर्ष पुराना मुद्दा ४३४ वटा रहेका छन् ।

आगामी आर्थिक वर्षमा ७ वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्य रहेको प्रवक्ता कुइँकेलले जानकारी दिए । २०७९ असारमा बसेको न्यायाधीशहरूको पूर्ण बैठकले २०८३ सम्म ५ वर्ष पुराना मुद्दा शून्यमा झार्ने कार्य योजना पारित गरेको थियो । २०८१ साउन १ गतेदेखि प्रारम्भ भएको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाले २०८३ सम्म सर्वोच्चमा ५ वर्ष पुराना मुद्दा शून्य बनाउने, उच्च र जिल्ला अदालतमा २ वर्ष नाघेका मुद्दा शून्य बनाउने र जुनसुकै मुद्दा १८ महिनाभित्र छिनोफानो गर्ने लक्ष्य लिएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१