
काठमाडौं। । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ०८४ साल नपुग्दै देशभरका सबै भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपूर्जा दिलाउने गरी काम गरेको जनाएका छन् ।
आइतबार रुपन्देहीको कन्चन गाउँपालिका वडा नं ५ गरेका ४५१ जना स्थानीयलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्दै उनले यसमा ढुक्क भएर बस्न आग्रह गरेका छन् ।
‘यो सरकारको अठोट हो, यसलाई जसरी पनि पूरा गरेर अघि बढ्छौँ, अब कन्चनको मात्रै होइन, रुपन्देहीको मात्रै होइन देशभर रहेका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउने छौँ, हामीले त्यसलाई ०८४ अघि नै पूरा गर्ने संकल्पका साथ काम गरेका छौँ ।’
उनले भने, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले यसमा स्पष्ट निर्देशन दिइरहनुभएको छ, जो भूमिहीन, बेघरबार छन् यसको स्थायी समाधानको लागि दृढ संकल्पसाथ काम भएको छ, यसलाई सरकारले मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’
मन्त्री पौडेलले यसका लागि बनेको भूमि समस्या समाधान आयोगले द्रूतरुपमा काम गरेको र यसको परिणाम सुरु भइरहेको जनाए । ‘केन्द्रमा आयोगले द्रूतरुपमा काम गरेको छ । जिल्लामा आयोगले त्यसैअनुसार काम गरेको छ । प्रदेश र स्थानीय सरकारहरूले पनि त्यसै गरेर समन्वय गरेका छन्’ उनले भने–‘यो समस्या समाधान गर्न हामी दृढ छौँ, अब चिन्ता गरेर बस्ने होइन स्थायी समाधानका लागि अघि काम बढाएको छौँ । आयोगलाई कुनै आर्थिक स्रोत कमी नहुने गरी स्रोत बनेको छ । जनशक्ति, स्रोतसाधनको व्यवस्था भएको छ, त्यसैले आयोगले पनि त्यही अनुसार काम गरेको छ ।’
मन्त्री पौडेलले अहिलेको गठबन्धनको आयु ०८४ सम्म भएको दोहोराएका छन् । ‘अब एउटा मात्रै समस्या होइन देशका सबै समस्या समाधान गर्ने अठोट लिएर अघि बढेका हौं, ०७९ को निर्वाचनबाट आएका परिणाम अनुसार कसैको बहुमत आएन, संसदमा धेरै अभ्यास भयो तर अरू गठबन्धन काम नलागेर निकासका लागि अहिलेको सरकार बनेको हो, यसैलाई ०८४ सम्म स्थायी रूपमा यो गठबन्धनले काम गर्नेछ यो स्थायित्वका लागि गरिएको हो ।’
देशमा आन्दोलनको नेतृत्व गरेका, इतिहास भएका पार्टीले निकासका लागि यसो गरेका हुन् । त्यसमा ढुक्क हुन आग्रह छ ।’ उनले अब नकारात्मक सोचका साथले होइन सकारात्मक सोचले अघि सबैलाई आग्रह गर्दै भने ‘यसमा जनताको साथ चाहिन्छ सिंगो देशकै विकासको अभियानलाई लिएर हामी अघि बढेका छौँ ।’
कार्यक्रममा भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरे, पूर्वसांसद भरत शाह, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललगायतले सम्बोधन गरेका थिए ।