• २०८३ असार ४
  • 2026 June 18, Thursday

रुपन्देही क्षेत्र नम्बर ३ मा गैरेले स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं।  । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन मिति कार्तिक १७ गते तोकेपछि रुपन्देही क्षेत्र नम्बर ३ मा दलहरू सम्भावित उम्मेदवारको खोजीमा जुटिरहेका छन्। यसैक्रममा बुटवलका युवा लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत गैरेले स्थानीयदेखि राष्ट्रिय तहसम्मको राजनीतिक अनुभव बुझेको र मतदाताले चाहेजस्तै नेतृत्व दिन सक्ने दाबी गर्दै आफू स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएको घोषणा गरे।

बुटवल उपमहानगरपालिका–१९ निवासी गैरेले आफू हाल कुनै राजनीतिक दलमा नरहेको र विभिन्न सामाजिक सङ्घसंस्थामा सक्रिय रहँदै आएको जानकारी दिए। उनले शिक्षा, स्वास्थ्य र समावेशी विकासलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाउने जनाए।गैरेले केन्द्रदेखि स्थानीय तहसम्म व्यापक भ्रष्टाचार फैलिएको आरोप लगाउँदै भ्रष्टाचारलाई विकासको मूल बाधकको रूपमा उल्लेख गरे।

उनले रुपन्देही क्षेत्र नम्बर ३ का नागरिकले आफूलाई वैकल्पिक र विश्वासिलो उम्मेदवारको रूपमा साथ दिने विश्वास व्यक्त गरे।२०७९ सालको आमनिर्वाचनमा यो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का वरिष्ठ नेता दीपक बोहोराले जित हासिल गरेका थिए। तर, उनको २०८१ चैत १९ गते उपचारका क्रममा निधन भएपछि आयोगले उपनिर्वाचनको मिति तोकेको हो। रुपन्देही क्षेत्र नम्बर ३ मा १ लाख ३९ हजार ७६४ मतदाता रहेका छन्। दलहरू आन्तरिक रूपमा उम्मेदवार छनोटको तयारी गरिरहेका छन्।