• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

कप्तानको नाम बाहिरिने डरले अन्तिमसम्म गोप्य राखेका थिए प्रशिक्षकले साम्बाको नाम

नेपाली महिला फुटबल टोलीको कप्तानी सम्बन्धी विवाद नेपालमै हुँदा सुरु भएको खुलेको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) की कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले उक्त विवादको बारेमा खुलासा गरिन्।

श्रेष्ठका अनुसार, नेपाली टोली उज्बेकिस्तान प्रस्थान गर्नु अघि नै कप्तान चयन गर्ने प्रस्ताव गरिएको थियो तर प्रशिक्षक प्याट्रिक डे वाइल्डले त्यसलाई अस्वीकार गरेका थिए। ‘हामीले नेपालमै कप्तान तोकेर जानुपर्छ भनेका थियौं, तर प्रशिक्षकले “उज्बेकिस्तान पुगेर निर्णय गरौंला” भनेर टारे,’ श्रेष्ठले बताइन्।

उज्बेकिस्तान पुगेपछि पनि प्रशिक्षक वाइल्डले निर्णयमा ढिलाइ गरे। श्रेष्ठका अनुसार, खेल सुरु हुनु ९० मिनेटअघि टिमको अन्तिम सूची दिनुपर्ने थियो तर प्रशिक्षकले त्यसबेलासम्म पनि कप्तान को हो भन्ने स्पष्ट गरेनन्। ‘उहाँले भन्नुभयो – “तिमीहरूले बाहिर नाम दिँन्छौ, त्यसैले म अहिले भन्न सक्दिन।”’

त्यसपछि प्रशिक्षकले तोकिएको समयभन्दा पाँच मिनेट अगाडि मात्र टिमको सूची बुझाएका थिए, त्यो पनि भिडियोमार्फत टिम हेर्न भनेका थिए। भिडियोमा पनि कप्तानको नाम उल्लेख नभएको श्रेष्ठको भनाइ छ। जब मैदान जानु पर्ने बेला आयो, उनीहरूले अनुभवी खेलाडी रेनुका नगरकोटीलाई कप्तान बनाएर एएफसीलाई सूची पठाए।

तर खेल सुरु हुनु अघि रेनुकालाई कप्तानको आर्मब्यान्ड लगाउन खोज्दा प्रशिक्षकले हस्तक्षेप गर्दै सावित्रा भण्डारी (साम्बा) कप्तान भएको जानकारी दिए। श्रेष्ठले थपिन्, ‘हामीलाई सावित्रा कप्तान बनाउनेमा कुनै आपत्ति थिएन, तर नेपालमै रहँदा जानकारी दिइएको भए समस्या हुने थिएन।’

त्यसपछि कप्तान सम्बन्धी सूची फरक परेपछि कारवाहीको डरले उनीहरूले प्रशिक्षकसँग प्रश्न गर्दा वाइल्ड रिसाउन थालेको श्रेष्ठले जनाइन्। म्याच कमिस्नरले समेत यस विषयमा प्रश्न गर्दा पनि प्रशिक्षकले कसैको कुरा नसुनेको उनले बताइन्।

श्रेष्ठका अनुसार, प्रशिक्षक वाइल्डको यस्तो लापरबाही र अस्पष्ट व्यवहारले कप्तानी विवाद उत्पन्न भएको हो, जुन सामान्य संवादमै समाधान हुन सक्थ्यो।