
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री आज एउटै मञ्चमा देखिएको छ ।
अध्यक्ष नेपाललाई पताञ्जली जग्गा प्रकरणमा मुद्दा लागेपछि ‘मरेको सिनु बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनको प्रस्ताव राखेकी झाँक्री आज एउटै कार्यक्रममा सहभागी हुन पुगेकी छन् ।
पार्टी निकट अनेरास्ववियूको प्रथम बैठक अहिले कीर्तिपूरमा जारी छ । बैठकमा प्रमुख अतिथि थिए अध्यक्ष नेपाल। विद्यार्थी नेताहरू अनुसार कार्यक्रममा झाँक्रीलाई बोलाइएको थिएन । उनी सङ्गठनकी इन्चार्जको नाताले पार्टीभित्र विवाद भएपनि सहभागी हुन पुगेकी हुन् ।
तर झाँक्रीले आफूले बोलेको कुरा सच्याउन नसक्ने सार्वजनिक रूपमा बताइसकेकी छन् । उनलाई असार २४ को सचिवालय बैठकले ७ दिनभित्र स्पष्टीकरणको जवाफ दिन भनेको थियो ।
उनले आफूविरुद्ध पार्टीकै नेताहरूले हिंसात्मक अभिव्यक्ति भएको आरोप लगाउँदै सचिवालयमै आफ्नो कुरा राख्न माग राख्दै पत्रसमेत बुझाएकी थिइन् । अधिकांश नेताहरू झाँक्रीलाई पार्टीबाट निष्कासन गर्नुपर्ने पक्षमा छन् ।
यता, अनेरास्ववियूले प्रथम बैठक गर्दै गर्दा सङ्गठन पनि भद्रगोल अवस्थामा छ। पार्टीले महेश श्रेष्ठलाई सङ्गठनको अध्यक्षमा अघि सारेपछि असन्तुष्ट पक्षले समानान्तर कमिटी घोषणा गरेका छन् ।
असन्तुष्ट पक्षले नरेश न्यौपानेको अध्यक्षता पदाधिकारीसहित १६७ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेका थिए । तर संस्थापन पक्षले भने सङ्गठनको निर्णय नमाने यही बैठकबाट कारबाही गर्ने चेतावनी दिइसकेको छ ।