जनमत पार्टीका निलम्बित उपाध्यक्ष दीपक शाह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवमाथि आफ्नै पार्टीका कार्यकर्ताहरूले मोसो प्रहार गरेका छन्। अध्यक्ष डा. सिके राउतविरुद्ध ‘जनसंवाद अभियान’ सञ्चालन गर्दै आएका उनीहरूलाई बारामा शुक्रबार मोसो हानिएको हो।
उपाध्यक्ष शाह र कोषाध्यक्ष यादवसहितको टोली जनसंवाद अभियानअन्तर्गत विभिन्न ठाउँमा भेटघाटमा थियो। यादवले आफूहरूमाथि मोबिल र पेट्रोल छर्केर आगो लगाउने प्रयास भएको आरोप लगाउँदै यस घटनाको योजनाकार पार्टी अध्यक्ष सिके राउत रहेको दाबी गरेका छन्।
उनीहरूको भनाइमा, बारामा पार्टीका कार्यकर्तासँग संवाद गर्न गएका बेला राउत पक्षका समर्थकहरूले उनीहरूलाई लक्षित गरेर आक्रमण गरेका हुन्।
यसैबीच, जनमत पार्टीका जिल्ला इन्चार्ज शिवनाथ पटेलले निलम्बित नेताहरूले पार्टीको झन्डा, ब्यानर र लेटरप्याड गैरकानुनी रूपमा प्रयोग गरेकाले कार्यकर्ताहरूबाट विरोध भएको स्वीकार गरेका छन्। उनले घटनाबारे जिल्ला प्रशासन कार्यालयमा औपचारिक उजुरी दिइसकेको जानकारी पनि दिएका छन् ।