
काठमाडौँ । नेकपा माओवादी केन्द्रले कर्मचारी सरुवामा मन्त्रीबाटै घुस डिल भइरहेको भनेर आएका समाचारको विषयमा सरकारको जवाफ मागेको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीको जवाफ मागेकी हुन् ।
‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू र भूमि व्यवस्था मन्त्रीले कर्मचारी सरुवामा ७८ लाख डिल गरेको भन्ने समाचारहरू बाहिर आइरहेका छन् । यो विषयमा के भएको हो ?,’ पूर्वमन्त्री समेत रहेकी शर्माले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसद्मा जानकारी गराउन अनुरोध गर्न चाहन्छु सभामुख मार्फत ।’
दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद शर्माले घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बिमाको हकमा रेफरल सेन्टर बनाइएकोमा पनि आपत्ति जनाइन् ।
‘आफ्नो आँगनको हस्पिटल छोडेर २४/२५ किलोमिटर टाढा रिफर गराउन जानुपर्ने अवस्थामा पुर्याइएको छ,’ उनले भनिन्, ‘यसको निम्ति म विरोध गर्दछु, दुस्ख प्रकट गर्दछु र म तुरुन्तै सभामुख मार्फत सरकारले यो निर्णय तत्काल सच्याओस् भनेर गम्भीर ध्यानाकर्षण गराउँछु । बीमित बिरामीलाई थप कष्ट दिने काम नगरियोस् ।’
पूर्वमन्त्री शर्माले आज बिहान काठमाडौँबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा घाइते भएकाहरूको उपचारको उचित प्रबन्ध मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइन् ।