• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

मन्त्रीको घुस प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कर्मचारी सरुवामा मन्त्रीबाटै घुस डिल भइरहेको भनेर आएका समाचारको विषयमा सरकारको जवाफ मागेको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीको जवाफ मागेकी हुन् ।

‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू र भूमि व्यवस्था मन्त्रीले कर्मचारी सरुवामा ७८ लाख डिल गरेको भन्ने समाचारहरू बाहिर आइरहेका छन् । यो विषयमा के भएको हो ?,’ पूर्वमन्त्री समेत रहेकी शर्माले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसद्‍मा जानकारी गराउन अनुरोध गर्न चाहन्छु सभामुख मार्फत ।’

यसको छानबिन गरेर दोषी जोसुकै होस् उसमाथि कडाभन्दा कडा कारबाही गरियोस् भनेर माग पनि उनले गरिन् । ‘अन्यथा सरकारको एक वर्षको उपलब्धि यही हुनेछ भन्ने कुरा पनि राख्न चाहन्छु,’ शर्माले भनिन् ।

दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद शर्माले घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बिमाको हकमा रेफरल सेन्टर बनाइएकोमा पनि आपत्ति जनाइन् ।

‘आफ्नो आँगनको हस्पिटल छोडेर २४/२५ किलोमिटर टाढा रिफर गराउन जानुपर्ने अवस्थामा पुर्‍याइएको छ,’ उनले भनिन्, ‘यसको निम्ति म विरोध गर्दछु, दुस्ख प्रकट गर्दछु र म तुरुन्तै सभामुख मार्फत सरकारले यो निर्णय तत्काल सच्याओस् भनेर गम्भीर ध्यानाकर्षण गराउँछु । बीमित बिरामीलाई थप कष्ट दिने काम नगरियोस् ।’

पूर्वमन्त्री शर्माले आज बिहान काठमाडौँबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा घाइते भएकाहरूको उपचारको उचित प्रबन्ध मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइन् ।