• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

कम्पनी रजिष्ट्रारको सिस्टम ह्याक गरेर असुली ! सांसद शर्माले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले कम्पनी रजिष्ट्रारको कार्यालयमा चरम भ्रष्टाचार र ‘डिजिटल बिचौलिया’को चलखेल भएको आरोप लगाएका छन्।

उद्योग मन्त्रालयअन्तर्गतको सो कार्यालयमा राज्यसत्तासँग निकट रहेका व्यक्तिहरूले सफ्टवेयर ह्याक गरी व्यापारीहरूसँग अवैध रूपमा रकम असुल्ने गरेको दाबी उनले गरे। आइतबार संसद परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सत्तासँग निकट अलि थरका एकजना बिचाैलिया रहेकाे भन्ने सुनेकाे पनि बताए ।

जसले सफ्टवेयरलाई जानाजान अवरुद्ध गराएर व्यापारीहरूलाई बाध्य बनाएर पैसा उठाउने काम गरिरहेको छ। उनले भने, ‘कम्पनी रजिष्टार कार्यालयमा डिजिटल प्रणालीलाई नै बिचौलियाको अस्त्र बनाइएको छ। सफ्टवेयर ह्याङ्ग हुने बहानामा व्यापारीलाई दुःख दिइन्छ र असुली गरिन्छ। यो प्रविधिमा बिचौलियाको पराकाष्ठा हो।’

सांसद शर्माका अनुसार असार मसान्तसम्म उद्योग नवीकरण नगरेमा कर तिर्न पाइँदैन, तर नवीकरणका लागि सेवा लिन खोज्दा सफ्टवेयर चल्दैन। त्यसैबीच कर नतिरेकोमा जरिवाना लाग्छ, बैंक किस्ता थामिन्छ, र व्यापारी मानसिक तनावमा पर्छन्। ‘राज्यले आफैं दिनुपर्ने भुक्तानी नदिएर व्यापारीलाई जरिवाना थोपर्नु कस्तो न्याय हो?’ उनले प्रश्न गरे।

उनले सरकारलाई चेतावनी दिँदै भने, ‘यदि यस्ता अनियमितता रोकिएनन् भने, श्रीलंका र बंगलादेशमा जस्तै नेपालमा पनि जनता सडकमा निस्कन सक्छन्। जनताको सहनशक्तिको सीमा छ। यो अति भयो, र अति गरे खति हुन्छ।’

शर्माले प्रधानमन्त्री र उद्योग मन्त्रीलाई कम्पनी रजिष्टार कार्यालयको अवस्था आफैं हेर्न र जनताको पीडा बुझ्न आग्रह गरे। ‘यो कार्यालयको अवस्थालाई भिडियोमा कैद गरेर सार्वजनिक गरिनुपर्छ। नागरिकलाई यस्तो प्रताडना दिन पाउनु हुँदैन,’ उनले भने ।