• २०८३ असार ३
  • 2026 June 17, Wednesday

रुपन्देही–३ को मैदान तताउँदै बालेन उम्मेदवार गिरी, भेटघाटमा व्यस्त

रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका सन्तोष गिरी यतिबेला निर्वाचन क्षेत्रमा स्थानीयसँग भेटघाट तथा छलफलमा सक्रिय छन्।

तिलोत्तमा नगरपालिका–६, पश्चिम पहुनीका स्थायी बासिन्दा ३३ वर्षीय गिरीको जन्मस्थान पनि रुपन्देही क्षेत्र नं. ३ मै पर्ने भएकाले उनले ‘स्थानीयको भावना र आवश्यकतालाई नजिकबाट बुझ्न’ सहज हुने विश्वास व्यक्त गरेका छन् । हाल उनी ‘ग्राउन्ड जिराे’ लेवलको मूल्याङ्कन गर्दै, समाजका विभिन्न वर्गसँग अन्तर्क्रिया गरिरहेका छन्।

बालेन शाहको सचिवालयमा सल्लाहकारको भूमिकामा रहँदै उनले स्थानीय शासन, नीति निर्माण, र नवप्रवर्तनमा प्रत्यक्ष अनुभव बटुलेका छन्। स्रोतका अनुसार गिरीकाे उम्मेदवारीलाई नयाँ पुस्ताको सहभागिता र वैकल्पिक राजनीतिक शक्तिको प्रतिनिधित्वको रूपमा हेरिएको छ।

विद्यार्थी जीवनमा अखिलको राजनीतिबाट उदाएका गिरीले राष्ट्रिय वादविवाद प्रतियोगितामा प्रथम स्थान हासिलगरेपछि देशैभर चर्चित भएका थिए । त्यस पश्चात उनले ८ वर्षसम्म देशव्यापी युवा शसक्तिकरणको अभियान चलाए ।

संसद र सांसद कस्तो हुने भन्ने विषयमा राष्ट्रिय युवा संसदमा बोलेका उनले त्यसमार्फत पुनः चर्चा बटुले र उनी विभिन्नअन्तर्राष्ट्रिय फोरममा नेपालको प्रतिनिधित्व गर्दै वक्ताका रुपमा प्रस्तुत हुन थाले ।

अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका गिरी नेपालस्वीस च्याम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत पनि रहेका छन् ।