• २०८३ जेठ २२
  • 2026 June 05, Friday

पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध

मुस्ताङ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम-कोरला सडकअन्तर्गत कागबेनी-कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।

गए रातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक आज बिहानैदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

कागबेनीस्थित काग खोलाबाट करिब २०० मिटर उत्तरतर्फ कोरला सडकको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिइन् । केही बेर अघिदेखि सडक अवरुद्ध सडक खुलाउन डोजरसहित आवश्यक जनशक्ति त्यसतर्फ पठाइएको उनले बताइन् ।

मुस्ताङमा कागबेनी-कोरला सडक अवरुद्ध बनेपछि उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् । लामाले माथिबाट ठूलाठूला चट्टान खसेकाले सडक खुलाउन केही समय लाग्न सक्ने जानकारी दिइन् । उनले तत्कालका लागि मोटरसाइकल र हलुका सवारीसाधन आवतजावत गर्न मिल्ने गरी पहिरो पन्छ्याउने काम भएको बताइन् ।

मुस्ताङमा गए रातिको वर्षासँगै कालीगण्डकी नदीको बहाव उच्च भएको छ । यहाँ तटीय क्षेत्रका बस्तीलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।