• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नक्कली नोट र अवैध लागूऔषध अफिम सहित पाँच जना पक्राउ

सुर्खेत । नक्कली नोट र अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट कुशे गाउँपालिका– ५ घर भएकी २२ वर्षीया दिलमाया सिंह ठकुरी, सोही गाउँपालिका–५ खुर्पा घर भएका ३३ वर्षीय राम बहादुर सिंह, सोही गाउँपालिका–७  समकोट गमौडी घर भई सुर्खेत भेरीगंगा नगरपालिका–१२ ठकुरी टोल डेरा गरी बस्ने ३५ वर्षीय कृष्ण बहादुर वली, ३८ वर्षीय प्रेम बहादुर विक र कालिकोट नरहरीनाथ गाउँपालिका–४ घर भई बाँके कोहलपुर नगरपालिका–११ न्यूरोडमा जनगर्जन नेटवर्क प्रा।लि। मिडिया सञ्चालन गरी बस्ने ३४ वर्षीय मन बहादुर सहकारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१० शान्ति टोलबाट दिलमायालाई नेपाली एक हजार दरका ६ थान नक्कली नोट सहित सोमबार दिउँसो पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा राम बहादुर र दिलमायाको डेरा कोठा तलासी गर्दा थप नेपाली एक हजार दरका १ हजार २ सय ३६ थान नक्कली नोट फेला परेको थियो । साथै कृष्ण बहादुर र प्रेम बहादुरको डेरा कोठा तलासी गर्दा अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ११ किलो ३ सय ७२ ग्राम सहित फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनाको थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरीले मन बहादुरले संचालन गरेको जनगर्जन नेटवर्क प्रा।लि तथा उनको कोठा तलासी गर्दा नेपाली एक हजार दरका ५१ थान नक्कली नोट, अफिम जस्तो देखिने पदार्थ १९ किलो ३ सय ग्राम, प्रिन्टर १ थान, सिपियु १ थान, मोनिटर १ थान, किबोर्ड १ थान, माउस १ थान लगायतका सामान फेला पारी मंगलबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।