• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

यमनमा मृत्युदण्डको सजाय सुनाइएकी भारतीय नर्स निमिषा प्रिया बचिन्, पीडित परिवार भने मृत्युदण्डमै अडिग

काठमाडौं । यमनमा एक यमनी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी भारतीय नर्स निमिषा प्रिया हाललाई मृत्युदण्डबाट जोगिएकी छन्। उनलाई २०२० मा यमनका नागरिक तलाल अब्दो महदीको हत्या अभियोगमा मृत्युदण्ड सुनाइएको थियो।

केरला राज्यको पलक्कड जिल्लास्थित कोल्लेङ्गोडकी निमिषा २०१७ मा भएको उक्त घटनापछि सना सहरको केन्द्रीय कारागारमा थुनिएकी छन्। उनीमाथि लगाइएको मृत्युदण्ड २०२५ जुलाई १६ मा कार्यान्वयन हुने तयारी थियो। तर, जुलाई १५ मा यमनी प्रशासनले मृत्युदण्डलाई स्थगित गर्ने निर्णय गरेको छ।

जुलाई १४ मा जारी गरिएको आधिकारिक आदेशअनुसार अब नयाँ मिति तय नभएसम्म निमिषाको मृत्युदण्ड कार्यान्वयन हुने छैन। भारतका ग्राण्ड मुफ्ती तथा केरलाका चर्चित इस्लामी विद्वान कन्तपुरम ए.पी. अबूबक्कर मुसलियारले यमनी इस्लामिक विद्वानहरूसँग समन्वय गरेर मृत्युदण्ड स्थगित गराउन पहल गरेका थिए।

यद्यपि मृतक तलाल अब्दो महदीको परिवार भने अझै पनि निमिषालाई मृत्युदण्ड नै दिनुपर्ने अडानमा छ। बीबीसीसँगको अन्तर्वार्तामा उनले स्पष्ट रुपमा भनेका छन्, “हामी निमिषाको मृत्युदण्ड बाहेक अरु कुनै सम्झौतामा जान तयार छैनौं।”

निमिषाको पक्षमा भारतभित्र र बाहिरबाट विभिन्न मानवअधिकार अभियन्ता तथा धार्मिक संघसंस्थाहरूले हस्तक्षेपको प्रयास गरिरहेका छन्। अहिलेका लागि उनको जीवन बचिएको भए पनि अन्तिम निर्णय आउन बाँकी छ।