• २०८३ असार २९
  • 2026 July 13, Monday

एमाले सचिवालय बैठकपछि दुई पोखरेलको ‘स्टाटस वार’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्ती सार्वजनिक गरेका छन् । घुमाउरो पारामा ईश्वरले विद्या भण्डडारीलाई समर्थन गरेको र शंकरले केपी ओलीलाई समर्थन गरेर स्टाटस लेखेको देखिन्छ ।

बिहिबार एमालेको सचिवालय बैठकमा ओली र ईश्वर पोखरेलबीच पार्टीको विधानलाई लिएर भनाभन भएको थियो । अध्यक्षको उमेरहद र कार्याकाल बढाउने प्रस्तावसँगै पूर्वराष्ट्रपति जस्तो व्यक्ती पार्टीमा फर्कनु गलत हो भन्ने ओलीको भनाईलाई ईश्वरले खण्डन गरेका थिए । सचिवालयका केहि नेताहरु असहमत हुँदाहुँदैपनि यी विषय पारित भइसकेको छ ।

यसैलाई लिएर एमाले वरिष्ठ उपाध्यक्ष र महासचिवबीच फेसबुक स्टाटसमा मतान्तर देखिएको छ । सचिवालयको निर्णयनुसार ओलीले नै नेतृत्व गरेर मिसन ८४ मा एकताबद्ध भएर जाने सुनिश्चित भएको आशय शंकर पोखरेल स्टाटसबाट बुझिन्छ भने सचिवालयको निर्णय पोलिटब्यूरोबाट संशोधित हुने ईश्वर पोखरेलको आशय छ ।

महासचिव शंकर पोखरेलले पार्टीभित्र विधि निर्माणको अन्योल अन्त्य भएको बताएका छन्।

उनका अनुसार अब पार्टी ‘मिसन ८४’ तर्फ सशक्त ढंगले अघि बढ्नेछ। ‘मिसन ८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो, अब त्यो सुनिश्चित भएको छ ।’ पोखरेलले बताए ।

यसैबीच वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी विधान संशोधनसम्बन्धी मस्यौदामाथि सचिवालय बैठकमा गम्भीर छलफल भएको बताएका छन्।

उनका अनुसार संशोधित मस्यौदा आज पोलिटब्यूरो सदस्यहरूमाझ छलफलका लागि पेश गरिँदैछ। ‘पोलिटब्यूरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल र बहसमा सहभागी हुनुहुनेछ ।’ पोखरेलले भने, ‘केन्द्रीय समितिमा पेश गरिने प्रस्तावलाई थप परिमार्जन गर्न सबैले योगदान पुर्‍याउनु हुनेछ।’

पार्टी विधान महाधिवेशनमा पेस गर्नु अघिको तयारीस्वरूप सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटीको चरणबद्ध छलफलमार्फत अन्तिम मस्यौदा तयार पारिने एमालेले जनाएको छ।