• २०८३ असार २९
  • 2026 July 13, Monday

सय वर्षसम्म कम्युनिस्ट झण्डा बोकिरहन्छुः वामदेव गौतम

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले सय वर्षसम्म कम्युनिस्ट झण्डा बोकिरहने घोषणा गरेका छन्।

शुक्रबार नेकपा एकीकृत समाजवादीसँगको पार्टी एकता घोषणा समारोहमा बोल्दै उनले ७० वर्षदेखि उचालेको कम्युनिस्ट झण्डा अझै पनि बोकिरहने दृढता व्यक्त गरेका हुन्।

‘७ वर्षको उमेरदेखि कम्युनिस्ट झण्डा बोक्न थालेको हुँ, अहिले ७७ वर्ष भए। सय वर्ष त बाँच्नु पर्छजस्तो लाग्छ, त्यसपछि बाँच्न जरुरी छैन,’ गौतमले भने, ‘त्यो बेलासम्म कम्युनिस्ट झण्डा बोकिरहनेछु।’

गौतमले राजतन्त्रको अन्त्य र कम्युनिस्ट पार्टीहरूको एकता स्थापना गर्ने लक्ष्यका साथ राजनीति सुरु गरेको स्मरण गरे।

‘राजतन्त्र अन्त्य गर्ने र एउटै कम्युनिस्ट पार्टी बनाउने मेरो सपना थियो। गणतन्त्र स्थापना भयो, २०७५ सालमा नेकपा बनायौं,’ उनले भने, ‘तर त्यो एकता टिक्न सकेन।’

गौतमले कम्युनिस्ट एकताको अभियानमा लाग्दा धेरै हण्डर–ठक्कर खेप्नुपरेको अनुभव सुनाउँदै भने, ‘आजको एकताले मलाई धेरै खुसी बनाएको छ।’