
काठमाडौं । विभिन्न सरकारी कार्यालय, बैंक तथा शैक्षिक संस्थाका नक्कली छाप, कागजात र बैंक स्टेटमेन्ट बनाउने कार्यमा संलग्न रहेका अभियुक्त सफराज खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–१० बस्ने झापा धरमपुरका ५२ वर्षीय खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले मंगलबार महाराजगञ्ज चोकबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार खड्काले विगत दुई वर्षदेखि आफ्नो निजी पसल सञ्चालन गरी सरकारी तथा गैर–सरकारी निकायका कागजातहरू किर्ते गर्दै आएका थिए। प्रारम्भिक अनुसन्धानमा उनले विभिन्न शैक्षिक संस्था, सरकारी कार्यालय, बैंक तथा राजनीतिक दलहरूको छाप, रबर स्ट्याम्प, लेटरहेड र बैंक स्टेटमेन्टहरू जाली तरिकाले तयार गर्ने गरेको खुलेको छ।
पक्राउपछिको खोजतलासमा खड्काको कोठाबाट विभिन्न सरकारी कार्यालय, जिल्ला अदालत र बैंकहरूको रबर स्ट्याम्प, होलोग्राम स्टिकरहरू, विभिन्न शैक्षिक प्रमाणपत्रहरू, बैंक स्टेटमेन्टहरू, दुई थान प्रिन्टर, एक थान सीपियु, एक थान स्क्यानर लगायतका सामग्री बरामद गरिएको छ।
उनलाई लिखतसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ। प्रहरीले नक्कली कागजात निर्माणमा संलग्न अन्य व्यक्तिको खोजी कार्य पनि तीव्र बनाएको जनाएको छ।
प्रहरीका अनुसार यस्तो प्रकारको किर्ते कार्यले समाजमा ठगी, आपराधिक आर्थिक कारोबार तथा आपराधिक समूहहरूको संरक्षणमा समेत सहयोग पुग्ने सम्भावना रहेकाले अनुसन्धान थप गम्भीर बनाइएको छ।