• २०८३ असार २९
  • 2026 July 13, Monday

सांसद श्रेष्ठको कटाक्ष : भ्रष्टाचार सफ्टवेयरबाट, सेवा ढड्डाबाट !

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठले आफ्नो पार्टीमाथि संसदमा अभिव्यक्ति स्वतन्त्रता दबाउने प्रयास भइरहेको आरोप लगाएका छन्। काठमाडौं २४ मा आयोजित पार्टीको पहिलो वडा अधिवेशनलाई सम्बोधन गर्दै उनले सभामुखले आफूलाई संसद्मा बोल्न नदिने गरेको गुनासो गरे।

उनले भने, ‘तपाईँहरूले जिताएर संसद्मा त पुर्‍याउनुभयो, यहाँ तपाईँहरू बत्ती झ्यापझ्याप काटेर हैरान त्यहाँ हामी चाहिँ सभामुखले माइक काटेर हैरान, बोल्यो कि माइक काट्ने अहिले त एउटा नारा पनि चल्न थालेको छ, स्थापित दलहरूलाई सात छाप, बत्ती जान्छ झ्याप झ्याप। यो कस्तो लोकतन्त्र हो त यो रु जन निर्वाचित भएर आएको एक जनाको पनि आवाज सुन्नुपर्छ तर यहाँ सिङ्गो दललाई प्रतिबन्ध गर्न खोजिरहेको छ।’

उनले भ्रष्टाचारको नयाँ शैलीबारे पनि टिप्पणी गरे। ‘भिजिट भिसाको नाममा दैनिक ५० लाखदेखि ३ करोडसम्म असुली हुन्छ,’ उनले भने, ‘भ्रष्टाचारको पैसा सफ्टवेयरबाट चल्छ, तर जनताको सेवा ढड्डाबाट मात्रै पाइन्छ।’

भूमि विधेयकमार्फत सार्वजनिक जग्गा आफ्ना कार्यकर्तालाई बाँड्ने प्रावधान ल्याइएको आरोप लगाउँदै उनले यस्तो विधेयक नीतिगत भ्रष्टाचार संस्थागत गर्ने प्रयास भएको टिप्पणी गरे। संसद्मा आफूहरू यस्ता अनियमितता विरुद्ध निरन्तर आन्दोलनरत रहेको उनले बताए।