• २०८३ असार २९
  • 2026 July 13, Monday

अख्तियारसम्बन्धी विधेयक थन्क्याएर राखिएकोमा कांग्रेस सांसदको आपत्ति

प्रतिनिधि सभाको बिहीबारको बैठकमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले अख्तियारसम्बन्धी विधेयक संसदीय समितिमा थन्क्याएर राखिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। उनले भने, ‘संसदीय उपसमितिले गत पुस ४ गते नै विधेयक पारित गरेर मुख्य समितिमा बुझाएको हो, तर त्यहाँ छलफल नै गरिएको छैन।’

अख्तियारसम्बन्धी विधेयक हाल प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको छ। सांसद थानीले भ्रष्टाचारसम्बन्धी विधेयक त कानुन बन्न सक्दा पनि अख्तियारसम्बन्धी विधेयक किन रोकिएको छ भनी प्रश्न उठाएका छन्।

उनले जोड दिए, ‘अख्तियारको सर्वेक्षणअनुसार ठूला भ्रष्टाचारहरू नीतिगत निर्णयबाट हुने देखिन्छ। यसरी नीतिगत निर्णयको व्याख्या नै कारण बनेर विधेयक रोक्नु मुलुकको लागि राम्रो हुँदैन।’

सांसद थानीले सभामुखलाई यस विषयमा रुलिङ गरी विधेयक छलफलका लागि सरकारलाई निर्देशन दिन पनि आग्रह गरे। यो विषयले आगामी समयमा संसदमा चासो पाउने देखिन्छ।