• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

दुई दशकअघि भएको कर्तव्य ज्यानको घटनामा फरार रहेका प्रतिवादी के बहादुर गर्बुजा अखेर प्रहरीले पक्राउ गरेको छ। रघुगंगा गाउँपालिका–४ दग्नाम निवासी गर्बुजालाई बिहीबार जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

गर्बुजासहितका व्यक्तिहरूले २०६० साल कात्तिक ६ गते साविक दग्नाम गाविस–२ का धनराम तिलिजामाथि धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए। सो घटनामा जिल्ला अदालत म्याग्दीले २०६८ साल जेठ ११ गते गर्बुजालाई २० वर्ष कैद सजायको फैसला सुनाएको थियो। तर उनी त्यसयता फरार रहँदै आएका थिए।

पक्राउ परेपछि उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत म्याग्दीमा पेश गरिएको थियो। अदालतको आदेशअनुसार उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय म्याग्दी पठाइएको प्रहरीले जनाएको छ।