
काठमाडौं । काठमाडौंको बागबजारमा रहेकाे काठमाडाैं माेडल कलेज (केएमसी) कलेजमा विद्यार्थीहरूमाथि गरिएको शारीरिक, मानसिक र यौन दुर्व्यवहारप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला समितिले आपत्ति जनाउँदै कारबाहीको माग गरेको छ।
क्रान्तिकारीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा विद्यार्थीहरूलाई मानसिक यातना दिने, यौन शोषण गर्ने, धम्क्याउने जस्ता गम्भीर आरोपहरू विद्यार्थीहरूबाट प्राप्त भएको उल्लेख छ। कलेज प्रशासनले यस्ता गतिविधिहरू बारम्बार दोहोर्याइ आएको र सेवा प्रवाहको नाममा विद्यार्थीहरूमाथि खेलवाड गरिएको संगठनको आरोप छ।
विज्ञप्तिमा भनिएको छ, ‘केएमसी कलेज प्रशासनविरुद्ध विद्यार्थीहरूले गम्भीर प्रकारका गुनासा तथा आरोपहरू लगाएपछि हाम्रो संगठनले यस घटनालाई गम्भीर र आक्रोशित रूपमा लिएको छ। यस्ता घटना नपहिलो हुन्, न त अन्तिम हुने आशंका छ। शिक्षा क्षेत्रलाई पवित्र क्षेत्रको रुपमा बदल्न विद्यार्थी आन्दोलनले निरन्तरता पाइरहेको छ।’
संगठनले पीडित विद्यार्थीहरूसँग माफी माग्न र घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्न कलेज प्रशासनससँग माग गरेको छ । माग पूरा नभएमा सडक संघर्षका कार्यक्रमहरू घोषणा गरिने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ।