• २०८३ असार २९
  • 2026 July 13, Monday

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई तीर्थालु बेपत्ता,खोज्न खटिए सेना

पवित्र धार्मिक स्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार दुई तीर्थालु डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका सुजन ढकाल र बेलवारीका मनोज न्यौपाने रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार तीर्थालुहरू गहिरो स्थानमा पौडी खेल्ने क्रममा डुबेका हुन्। दिउँसो स्नान गर्न कुण्डमा पसेका उनीहरू केही समयमै बेपत्ता भएका थिए।

घटनापछि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई खोज तथा उद्धारका लागि घटनास्थल पठाइएको छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ मा रहेको यो तीर्थस्थल साउन महिनामा विशेष भीड लाग्ने स्थान हो। अधिकारीहरूका अनुसार कुण्डको गहिराइ र चिसो तापक्रमका कारण दुर्घटनाको जोखिम उच्च हुने गर्छ।

बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।