केएमसीमा आत्महत्या नजिक पुगिन् विद्यार्थी ! यस्तो छ कलेजभन्दा ठूलो अन्यायको फेहरिस्त

काठमाडौं मोडल कलेज (केएमसी) मा अध्ययनरत छात्रा ‘सुरक्षा’ (नाम परिवर्तन) कलेजको अनुशासनात्मक प्रणालीका कारण विक्षिप्त बन्न पुगेकी छन् । केही महिनायता केएमसीले दिएको यातना न उनी कोहीसँग शेयर गर्न सक्छिन् न त सहेर बस्न नै । अनुशासनका नाममा कलेजले दिएको यातनाले उनलाई तनावको उच्चतम तहमा पु¥याएको छ ।

उज्ज्वल भविष्यको सपना सहित केएमसी पढ्न थालेकी सुरक्षा शुरुवाती दिनमा उत्साहित थिइन् । तर अनुशासनका नाममा केएमसीले केही महिनाअघि जुन हर्कत ग¥यो त्यसले भने उनलाई दिनमा भोक न रातमा निन्द्राको अवस्थामा पु¥याएको छ ।

उनका अनुसार शरीर खानतलासीका लागि भनेर अनुशासन इन्चार्जले अरु साथीहरुका अघि सर्ट खोल्न लगाए । सर्ट खोलेर मात्रै पुगेन अर्को भित्री वस्त्र पनि निकाल्न दबाब दिए । उनी भन्छिन्, ‘अनुशासनको नाममा दिनहुँजस्तो हुने खानतलासी, झोलाबाट साना सामान निकाल्न लगाउने, पोसाक खोल्न कर गर्ने जस्ता व्यवहारले निकै अपमानित महसुस गरायो ।’

त्यसो त कलेजभित्रको ‘अनुशासनात्मक प्रणाली’को आडमा विद्यार्थीहरूलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा शोषण गरिएको भन्दै पीडित विद्यार्थीहरूले सामाजिक सञ्जालमार्फत आवाज पनि उठाएका थिए । सुरक्षासहित अन्य पीडित विद्यार्थीहरुले आवाज उठाएपछि कलेज प्रशासनले उनीहरुको आवाज दबाउन हर सम्भव प्रयास गरिरहेको छ ।

केही विद्यार्थीलाई कलेजले प्रभावमा समेत पारिसकेको छ । सुरक्षा भन्छिन्, ‘कलेजको दबाब र प्रभावमा परेर केही साथीहरु अहिले बोल्न छाडेका छन् ।’

यो घटना दबाउन कलेज प्रशासनले पीडित विद्यार्थीको मानसिक अवस्थामा समेत प्रश्न उठाउन शुरु गरेको छ । विद्यार्थीको मानसिक स्थिति खराब भएको देखाउनेगरी कलेज अघि बढेको अर्का एकजना विद्यार्थी बताउँछन् । नाम उल्लेख नगर्ने सर्तमा उनी भन्छन् ‘सुरक्षालाई जबरजस्ती मानसिक स्थिति खराब भएको देखाउँन खोजिँदैछ । यो त अति हो ।’

शुरुमा परिवारको साथ पाएकी सुरक्षा अहिले यो घटनामा परिवार समेत मौन बस्न थालेपछि तनावसँगै आश्चर्यमा परेकी छिन् । सामाजिक इज्जतको डरले परिवार मौन बसेको उनको बुझाई छ । उनी भन्छिन्, ‘यी सबै सम्झँदा मलाई कुनैबेला लास्टै तनाब हुन्छ । बाँच्न पनि मन लाग्दैन ।’

केएमसीमा दूर्व्यबहार भोग्ने सुरक्षा मात्रै होइनन् । उनीसहित अरु विद्यार्थीहरु पनि छन् । अरु विद्यार्थीले पनि ‘अब चुप नबस्ने’ भनेर शुरुमा आवाज उठाएका थिए । तर ती सबै आवाजहरु अहिले दबाउने प्रयास भइरहेको छ । सुरक्षा भन्छिन् ‘कलेज ठूलो छ, बोल्दा पढाइ गुम्छ, समस्या आउँछ भन्ने डरले सबै चुप लागे ।’

पुराना घटनाहरू पनि सतहमा

केएमसीमा यस्ता अनुशासनका नाममा गरिने शरीर खानतलासीको अपमानजनक व्यवहार अरु पनि प्रशस्तै छन् । केही महिनाअघि एक छात्रको मोबाइल प्रशासनले खोसेर कलेजमा राखिदियो । मोबाइल खोसिएपछि विद्यार्थी घर नै गएनन् । मोबाइल खोस्दा कलेजले दिएको टर्चरका कारण उनी आत्तिएर एकजना साथीको घरमा लुकेर बसे । उनलाई भेट्न प्रहरीलाई समेत निकै मुस्किल परेको थियो । यद्यपि प्रहरीले पछि उनलाई सकुशल परिवारको जिम्मा लगायो ।

चेतावनीपूर्ण उदाहरण

केएमसीका पछिल्ला घटनाहरू धेरैलाई चिन्तित तुल्याउने प्रकारका छन् । किनकि यस्तै घटनामा पीडकलाई बेलैमा कारबाही नगर्दा भारतको ओडिशा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को एउटा दुःखान्त खबर सार्वजनिक भएको थियो । अपमान सहन नसकेर दुई छात्राले आत्महत्या गरेका थिए ।

मानवअधिकार आयोग, मानसिक स्वास्थ्य सञ्जाल र शिक्षाविद्हरू भन्छन् — ‘अनुशासनको नाममा गरिने जाँच र व्यवहार यदि गरिमा र गोपनीयता विपरीत हुन्छ भने त्यो विद्यार्थीमाथि मानसिक हिंसा मानिन्छ ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१