• २०८३ असार १८
  • 2026 July 02, Thursday

बालुवाटारमा शीर्ष नेताहरूबीच भेटवार्ता, मन्त्रिपरिषद् पुनर्गठन मुख्य विषय

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ।

बालुवाटारस्थित प्रशासन विशेष स्रोतका अनुसार अहिले केहीबेर अघि सुरु भएको उक्त भेटवार्ता मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित रहेको छ। प्रधानमन्त्री ओली मन्त्रिपरिषद् हेरफेर गर्न चाहिरहेका छन् भने देउवामाथि पनि पछिल्लो समय आन्तरिक र बाह्य दुवै दबाब परेको स्रोतको भनाइ छ। सम्भवत: आजको छलफलले यस सम्बन्धमा निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।

सरकार गठन भएको एक वर्ष पुगिसकेको सन्दर्भमा अधिकांश मन्त्रीहरूले प्रधानमन्त्रीको कार्यगत धारणा र गति अनुसार अगाडि बढ्न नसकेको भन्दै सत्तारूढ दलभित्रैदेखि बाहिरसम्म आलोचना बढ्दै गएको छ।

पछिल्लो समय केही मन्त्रीहरू मन्त्रालयको समग्र प्रगतिभन्दा व्यक्तिगत स्वार्थमा बढी केन्द्रित हुन थालेपछि कर्मचारी वृत्तबाट समेत असन्तुष्टि व्यक्त हुन थालेको देखिन्छ। त्यतिमात्रै होइन, अनियमिततामा समेत मन्त्रीहरुको संलग्नताबारे सिंहदरवारमा गाईगुई हुन थालेको निकै समय भएको छ ।