• २०८३ असार १८
  • 2026 July 02, Thursday

अस्पताल भर्ना भए पनि मेयर भट्टराई अनसन कायम राख्ने अडानमा

काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि अनसनरत दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर तीर्थराज भट्टराई अहिले वीर अस्पतालमा उपचाररत छन् ।

उनलाई प्रेसर लो, सुगर लो र चक्कर आउनेजस्ता समस्या देखिएको छ । हिजो राति साढे ११ बजे भट्टराईलाई अस्पताल भर्ना गरिएको थियो ।

गत साउन ११ गतेदेखि सात बुँदे माग राखेर माइतीघर मण्डलामा अनसन सुरु गरेका भट्टराईले माग पूरा गर्नुपर्ने तीन दिनको अल्टिमेटम दिएका थिए । तर, तीन दिनमा पनि माग पूरा नभएपछि हिजोबाट भने आमरण अनसन सुरु गरेका थिए ।

आमरण अनसन सुरु भएपछि उनको स्वास्थ्यमा समस्या आएको हो । हिजो राति अस्पताल भर्ना भएका भट्टराईले बिहानैबाट डक्टरहरूलाई डिस्चार्ज गरिदिन माग गरेका थिए । आफू माइतीघरमै आमरण अनसन बस्ने भन्ने माग डक्टरहरूसँग गरे पनि उनलाई डाक्टरहरूले डिस्चार्ज दिन मानेनन् ।

स्वास्थ्यमा गम्भीर समस्या देखा पर्न सक्ने भन्दै डाक्टरले डिस्चार्ज दिन नमानेपछि भट्टराई समर्थकहरूले अस्पतालमै विरोध जनाएका थिए ।अहिले भने स्वास्थ्यको जिम्मा आफैँले लिने गरी कागज गरिसकिएको भट्टराईका एक सहयोगीले बताए ।