विद्यालय शिक्षा ऐनः बर्खे अधिवेशनमै ऐन ल्याउने सरकारको योजना लगभग फेल

सरकारले बर्खे अधिवेशनमै ल्याउने भनेको विद्यालय शिक्षा ऐन फेरि पनि लम्बिने भएको छ। मुख्य विवाद शिक्षकको आवधिक बढुवालाई लिएर भएपछि संसदको चालू अधिवेशनमै ऐन पास हुने सम्भावना टरेको हो।

शिक्षा तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले ऐन अब हिउँदे अधिवेशनसम्म सर्ने दाबी गरे। उनले शिक्षामन्त्री र शिक्षक महासंघ दुवैको कमजोरीले विधेयक अन्योलमा परेको बताए।

सभापति थापाका अनुसार कांग्रेस र शिक्षामन्त्रीले ‘आवधिक बढुवा हुनैपर्छ’ भन्ने अडान राख्दा प्रक्रिया अड्किएको हो। तर, अहिले सिनियरिटी, कार्यसम्पादन र क्षमताका आधारमा बढुवा गर्नुपर्ने सहमति जुटेको उनले जनाए।

२२ असारमा समिति बैठकले शिक्षामन्त्रीलाई ५ दिनको समय दिएको थियो। तर, १५ दिन बित्दासमेत मन्त्री पन्तले सहमति जुटाउन नसकेपछि विधेयक टुंगोमा पुग्न सकेन।

शिक्षा विधेयक ०८० भदौमा दर्ता भए पनि एक वर्षमा निर्णय हुन नसक्नु सरकारको प्रतिबद्धता माथि प्रश्न बनेको छ।

शिक्षामन्त्री पन्तले सत्तापक्षभित्र छलफल जारी रहेको बताउँदै केही दिनमा समाधान हुने दाबी गरे पनि स्पष्ट मिति भने दिएका छैनन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१